कोष सम्झौताको धाराहरूको धारा २ को दफा २ बमोजिम अन्तर्राष्ट्रिय द्रव्य कोषको सदस्यताको
लागि नेपाल सरकार, नेपालले सन् १९६० अप्रेल १३ मा निवेदनपत्र दिएको, र
कोषको बाइलजको दफा २१ बमोजिम कार्यकारी सञ्चालकहरूले सो सरकारको प्रतिनिधिहरूसंग
परामर्श गरी कार्यकारी सञ्चालकहरूको रायमा नेपाललाई कोषको सदस्यतामा प्रवेश गराउन
गभर्नरहरूको बोर्डद्वारा तोकिन सक्ने शर्तहरू मञ्जूर गरेकोले,
गभर्नरहरूको बोर्डले, कार्यकारी सञ्चालकहरूको सिफारिश उपर विचार गरी नेपाललाई देहायका शर्त र
अवस्थाहरूमा कोषको सदस्यतामा प्रवेश गराउने प्रस्ताव गरेकोछः–
१. परिभाषाः यो प्रस्तावमा प्रयोग गरिएबमोजिमको–
(क) “कोष” भन्नाले अन्तर्राष्ट्रिय द्रव्य कोष सम्झनु पर्छ ।
(ख) “धाराहरू” भन्नाले अन्तर्राष्ट्रिय द्रव्य कोषको सम्झौताको धाराहरू सम्झनु पर्छ ।
(ग) “डलर” भन्नाले सन् १९४४ जुलाई १ मा चालू भएको तौल र नाप (फाइननेस) को
संयुक्त राज्य डलरहरू सम्झनु पर्छ ।
२. कोटाः नेपालको कोटा ७५,००,००० पचहत्तर लाख डलर हुनेछ ।
३. चन्दाः नेपालको चन्दा यसको कोटाको बराबर हुनेछ र चन्दाको घटीमा ३½ प्रतिशत सुनमा र
बाँकी नेपाली मुद्रामा भुक्तानी गरिनेछ ।
४. चन्दाको भुक्तानीः सुनमा भुक्तानी गर्नु पर्ने चन्दाको अंश नेपालको तर्फबाट धाराहरूमा दस्तखत
भएको दिनसम्ममा भुक्तानी दिनु पर्नेछ । केही गरी नेपालले कोषको सदस्यता प्राप्त नगरेमा यसरी
भुक्तानी दिएको सुन कोषले नेपाललाई फर्काइ दिनेछ । सुनमा भुक्तानी नभएको चन्दाको बाँकी
अंश तल दिइएको प्रकरण ५ अनुसार नेपाली मुद्रामा प्रारम्भिक सममूल्य (पार भ्यालु) मञ्जूर
गरिएको तीसौं दिनभन्दा अगावै भुक्तानी दिइनेछ ।
५. सममूल्य (पार भ्यालु) को निर्धारणः कोषले यसरी अनुरोध गरेको ३० दिनभित्र नेपालले आफ्नो
मुद्राको प्रस्तावित सममूल्य (पार भ्यालु) को सूचना कोषलाई दिनेछ र उक्त प्रस्तावित सममूल्य (
पार भ्यालु) को सूचना कोषले प्राप्त गरेको ६० दिनभित्र नेपाल र कोषको बीचमा मुद्राको
प्रारम्भिक सममूल्य (पार भ्यालु) उपर मञ्जूरी गरिनेछ, तर कोषको उक्त ६० दिनको अवधिलाई
बढाउन सक्नेछ र समूल्य (पार भ्यालु) बारे मञ्जूर हुन नपाउँदै उक्त बढाइएको म्याद समाप्त
भएमा नेपालले कोषबाट आफूलाई अलग गरेको मानिनेछ । नेपालले सदस्यता स्वीकार गरेको
समयमा प्रचलित भई राखेको विनिमय दरलाई सदस्यता स्वीकार गर्ने र यो प्रकरणबमोजिम
प्रारम्भिक सममूल्य (पार भ्यालु) निर्धारण गर्ने बीचको अवधिमा कोषसंग अगावै परामर्श गरी
परिवर्तन गर्न हुँदैन ।
६. कोषसितको विनिमय कारोबारः नेपालले–
(क) माथि उल्लेखित प्रकरण ५ बमोजिम आफ्नो मुद्राको सममूल्य (पार भ्यालु) मा
मञ्जूरी भएको तीसौं दिनभन्दा अघि, र
(ख) आफ्नो चन्दा पूरा पूरा भुक्तानी गर्नुभन्दा अघि, कोषसंग विनिमय कारोबार गर्न
पाउने छैन ।
७. जाहेरी र सूचनाः कोषको सदस्यता स्वीकार गर्नुभन्दा पहिले नेपालले स्वीकृतिको लिखतलाई
हस्ताक्षर गरी दाखिल गर्न र यस प्रस्तावको प्रकरण ८(क) र (ख) मा लेखिएबमोजिमको
धाराहरूमा हस्ताक्षर गर्न आवश्यक सबै काम कारवाई गरिसकेको छ भन्ने कुराको जाहेरी
कोषलाई पठाउनु पर्छ र कोषले ती काम कारवाईको सम्बन्धमा अनुरोध गरे बमोजिमको सूचना
नेपालले कोषलाई पठाउनु पर्छ ।
८. सदस्यता स्वीकार गर्नेः यो प्रस्तावको प्रकरण ७ मा दिइएको शर्तहरू नेपालले पूरा गरेको छ
भनी कोषले संयुक्त राज्य अमेरिकाको सरकारलाई सूचना गरेपछि देहायका कुराहरू पूरा गरेको
मितिमा नेपाल कोषको सदस्य बन्नेछः–
(क) नेपालले आफ्नो कानून अनुसार यो प्रस्तावमा उल्लेख गरिएको सबै शर्त र
अवस्थाहरू र धाराहरू स्वीकार गरेको छ र धाराहरू र यो प्रस्ताव अन्तर्गतका
आफ्नो सबै दायित्वहरू पूरा गर्नको निमित्त नेपालले आवश्यक सबै कदमहरू
उठाइसकेको छ भन्ने जाहेरीको लिखत संयुक्त राज्य अमेरिकाको सरकारमा
नेपालले दाखिल गर्नु पर्दछ, र
(ख) संयुक्त राज्य अमेरिकाको सरकारको अभिलेख गृह (आर्चिभ्स) मा रहेको
धाराहरूको मूल प्रतिलिपिमा नेपालले दस्तखत गर्नुपर्छ ।
९. सदस्यता स्वीकार गर्ने हद अवधिः नेपालले यो प्रस्ताव लागू हुने मितिले जुन मिति गभर्नहरूको
बोर्डले यसलाई स्वीकार गरेको मिति हुनेछ ६ महीनाभित्र यो प्रस्तावबमोजिम कोषको सदस्यता
स्वीकार गर्न सक्नेछ, तर असाधारण परिस्थितिले गर्दा यो प्रस्तावबमोजिम नेपालले सदस्यता
स्वीकार गर्न सक्ने हद अवधि बढाउन पर्ने भनी कार्यकारी सञ्चालकहरूले देखेमा सो अवधिलाई
बढाई पछिल्लो कुनै हद अवधि तोक्न सक्नेछ ।